कक्षैपिच्छे खानेपानीको सुविधा
इटाभट्टा, २९ पुस । ज्यामिरगढी–९ की इशा खड्का आदर्श उच्च मावि इटाभट्टा कक्षा–८ मा अध्ययन गर्छिन् । केही समय अघिसम्म तिर्खा लाग्दा पानी पिउन उनले हातेकल (ट्युववेल)मा लाइन बस्नु पथ्र्याे । १० मिनेटको ब्रेकमा पानी पिउन भ्याउन मुस्किल थियो । तर, अहिले उनी यो समस्याबाट मुक्त भएकी छिन् । उनलाई न त लाइनमा बस्नु पर्छ, न त पानी खोज्न बाहिर जानु पर्छ ।
कक्षा १० की सारिका थामीको पनि समस्या कम थिएन । उनले पनि पानी पिउनकै लागि धेरै समय विताउनु पथ्र्यो । अहिले उनी यो समस्याबाट मुक्त छिन् ।
इशा र सारिका मात्र होइन । विद्यालयमा अध्ययन गर्ने १ हजार ३४ जना विद्यार्थीलाई पानी पिउनका लागि विद्यालयले प्रत्येक कक्षा कोठामा खानेपानीको व्यवस्था गरेको छ । ‘सोच्दै नसोचेको सुविधा भयो’, यसै वर्ष मात्र नजिकैको बोर्डिङ स्कुलबाट यहाँ पढ्न आएकी इशाले भनिन्–‘विद्यार्थी धेरै भएका कारण पहिले पानीको समस्या थियो । अहिले कक्षा कोठामै पानी पिउने व्यवस्था छ ।’
खानेपानीको सीमित ट्युववेल र विद्यार्थी सङ्ख्या धेरै भएका कारण विद्यार्थीलाई सास्ती हुन थालेपछि एक वर्ष अघि विद्यालयले यो योजना अघि सारेको थियो । विद्यार्थीहरू पानी पिउनकै लागि पढाई नै छोडेर कक्षा बाहिर रहन थालेपछि विद्यालयले यो नयाँ उपाय अवलम्बन गरेको हो ।
‘शैक्षिक गुणस्तरका लागि यो अभियान सुरु गरेका हौँ’, विद्यालयका प्राचार्य हेमकुमार खड्का भन्छन्–‘तिर्खा लागे कोठाभित्रै पानी पिउन पाउने व्यवस्था मिलाएका छौँ ।’
एक्सेल डेभलोपमेन्ट विकास बैङ्क विर्तामोडको १ लाख ५० हजार, काँकरभिट्टा खानेपानी संस्थाको ३० हजार र विद्यालयको ३५ हजार गरी २ लाख १५ हजारको लगानीमा प्रत्येक कक्षा कोठामा पानीको व्यवस्था गरिएको प्राचार्य खड्काले बताए । यो विद्यालयले शैक्षिक गुणस्तर र सुविधाका दृष्टिले यतिबेला काँचुली नै फेरेको छ ।
३ वर्षको अन्तरालमा यो विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित भएको छ । जसको अवलोकन गर्नका लागि जिल्लाका विभिन्न विद्यालयका शिक्षक, स्रोत व्यक्ति, जिल्ला शिक्षा कार्यालयको टोली आउने गरेका छन् ।
छोटो समयमा गरेको प्रगतिले यहाँका अभिभावक तथा स्थानीयको मन जित्न विद्यालय सफल भएको छ । शैक्षिक गुणस्तर वृद्धिलाई मुख्य लक्ष्य बनाएको विद्यालयले साना कक्षाका विद्यार्थीहरूलाई विशेष सेवा र सुविधाका साथ अध्ययनलाई रूचीकर बनाउन सफल भएको छ ।
कक्षा नर्सरीदेखी कक्षा ३ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको विद्यालयमा ४ जना अङ्ग्रेजी शिक्षकहरूलाई निजी तलबमा नियुक्ति गरिएको छ । साना कक्षाका विद्यार्थीहरूका लागि दिवा खाजाको व्यवस्थासहित खेल्नका लागि पिङ, चाकाचुली, गाडी, चिप्लेटीको व्यवस्था गरेको छ भने उनीहरूका लागि बेग्लै सुविधासम्पन्न ब्लकको स्थापना गरेको छ ।
विद्यार्थीलाई परेको समस्यालाई समाधान गर्नका लागि मनोपरामर्श केन्द्र, छात्रा विद्यार्थीहरूका लागि अलग्गै सौचालयसहित महिनावारीका बेला प्याडको सुविधा समेत विद्यालयले नै दिँदै आएको छ ।
‘सानो कक्षामै विद्यार्थी राम्रोसँग पढ्न सक्यो भने माथिल्ला कक्षाहरूमा सहज हुन्छ’, प्राचार्य खड्का भन्छन्–‘यसैले हामीले यो अभियानका साथ साना कक्षालाई फोकस गरेर जान थालेका छौँ ।’
२०२५ सालमा स्थापना भएको यो विद्यालयमा हाल १ हजार ३४ जना विद्यार्थी अध्ययनरत छन् । ‘हाम्रो मुख्य लक्ष्य शैक्षिक गुणस्तर बढाउनु नै हो’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर राउतले भने–‘जबसम्म विद्यार्थीमा पढाइप्रति रूची बढ्दैन तबसम्म शिक्षकले जतिसुकै मेहेनत गरे पनि प्रगति हुन सक्दैन ।’ यस विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य उदाहरणीय देखिन्छ ।
कुनै समय विद्यार्थीमा विद्यालय आउने जानेको कुनै निश्चित समय थिएन । तर, यतिबेला विहान १० बजे विद्यालय प्रवेश गरेको विद्यार्थी ४ बजे छुट्टी भएपछि मात्र गेटबाट बाहिरिने गरेका छन् । विद्यालयले विद्यार्थीलाई व्रिmयाशिल बनाउने लक्ष्यका साथ बाल क्लबमा आबद्ध गराएर हरेक क्षेत्रमा काम गर्न सक्ने योग्य बनाउँदै गएको छ ।
क्लबको माध्यमबाट परिसरमा सुन्दर फूलबारी, करेसाबारी, हरेक शुव्रmबार अतिरिक्त व्रिmयाकलाप, विद्यालय सरसफाई तथा शैक्षिक गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको शिक्षक देवराज गिरीले बताए । उनका अनुसार करेसाबारीमा आलु, काउली, खोर्सानी, भन्टा, सागलगायतका सागसब्जी फलेका छन् । ती फलफूल बेचेर क्लबको आर्थिक स्रोत बढाउने गरेको शिक्षक गिरीले बताए ।
‘गर्दा हुँदो रहेछ’, काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहाल भन्छन्–‘प्राचार्यको सफल नेतृत्व तथा शिक्षकहरूको टिम स्प्रिटका कारण आदर्श उमाविले सोचेभन्दा राम्रो उन्नति गर्दै गएको छ ।’
Source:http://loktantrapost.com